
पूर्णपुष्टि, असार १२
आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली नेपाल फर्किएका छन् भने सँगै जहाजले १६ वटा शव पनि ल्याएको छ ।
मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २ सय ४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ सय ४८ नेपाली र १ शव नेपाल ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १ सय ६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका २ चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश आइपुगेका छन् । बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
कुवेतमा आममाफीमा सहभागी १ सय ६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १ सय ६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।
यस्तै आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् ।
