
पूर्णपुष्टि, भदौ २२ गते ।
आधारभूत तहको नगरस्तरीय परिक्षामा उत्कृष्ठ भएका त्रियुगा नगरपालिका ३ स्थित श्री रामजानकी माध्यामिक विद्यालय, मोतिगडाका एक विद्यार्थी र विद्यालय आज नगरपालिकाबाट सम्मान तथा पुरस्कृत भएको छ ।
विद्यालयका प्रधानाध्यापक देवनाथ चौधरीका अनुसार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा त्रियुगा नगरपालिकाबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी कमल खत्री पुरस्कृत भएको हो । विद्यार्थी खत्रीले २०७५ सालमा अघिल्लो कक्षा ८ मा त्रियुगा नगरपालिका मध्येबाट परिक्षामा उत्कृष्ठ अंक ल्याएका थिए । उनले ३ दशमलब ७८ जीपीए प्राप्त गरेका थिए । उनलाई नगर प्रमुख बलदेव चौधरीले नदग दुई हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

त्यसैगरी पठनपाठन राम्रो बनाई विद्यार्थी उत्कृष्ठ पार्न सफल भएकोमा विद्यालयलाई सम्मानपत्र पत्र प्रदान गरिएको छ । नगर प्रमुख चौधरीले विद्यालयका प्रअ चौधरीलाई सम्मान पत्र प्रदान गर्नुभयो । गतसाल पनि उत्कृष्ठ पठन पाठन र विद्यालय व्यवस्थापनको मूल्यांकन गर्दै सो विद्यालयका प्रअ चौधरीलाई नगरपालिकाले सम्मान गरेको थियो ।


