
उदयपुरको सबै स्थानीय तहले समयमै गाउँ तथा नगरसभा सम्पन्न गरेका छन् । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहका स्थानीय सरकारले आज गाउँ तथा नगरसभा सम्पन्न गरेका हुन् ।
आउदो आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रम सार्बजनिकसहित सम्पन्न सभा सबै पालिकामा सौहाद्रपूर्ण ढंगले भएका छन् । कोभिड १९ को बाबजुद दुरी तथा स्वास्थ्य मापदण्ड अपनाउदै सभा सम्पन्न गरिएको हो ।
सबैजसो पालिकाहरुले बजेटमा विकास पूर्वाधारलाई प्राथमिकता दिएका छन् । साथै शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएका छन् ।
सबै पालिकाको यो नवौ सभा हो ।
त्रियुगा नगरपालिकाले सबैभन्दा बढि बजेट ल्याएको छ । भुगोल तथा जनसंख्याको हिसावले जिल्लाको सबैभन्दा ठूलो त्रियुगाले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४५० रुपैया बजेट ल्याएको छ । दोस्रोमा चौदण्डीगढीको बजेट रहेको छ । उसले ७४ करोड, ७१ लख ९५ हजार बजेट विनियोजन गरेको छ ।
बेलका नगरपालिकाले ६९ करोड ७६ लाख ४५ हजार बजेट ल्याएको छ भने कटारी नगरपालिकाले ६९ करोड, ९ लाख २० हजार ५५० बजेट पेश गरेको छ ।
गाउँपालिकाहरु मध्ये उदयपुरगढीले सबैभन्दा बढि ६६ करोड ०७ लाख १० हजार ५७० बजेट ल्याएको छ । त्यसपछि रौतामाईले ५२ करोड ३३ लाख ८ हजार ९६० बजेट ल्याएको छ । लिम्चुङबुङले ४२ करोड ८१ लख २२ हजार बजेट ल्याएको छ भने ताप्लीले सबैभन्दा कम ३३ करोड ५० लाख ५७ हजार रुपैया बजेट विनियोजना गरेको छ ।
समग्रमा जिल्लाभरको बजेट ५ अर्ब, २६ करोड, २६ लाख, ५३ हजार ५३० रहेको छ ।
