पूर्णपुष्टि, कार्तिक १६
बिगत १५ बर्षदेखी साउदीमा रहेका उदयपुरका एक युवालाई मृत्युदण्डको सजाय दिईएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बासाहा घर भएका विवेक दाहाललाई साउदी सरकारले मृत्युदण्डको सजाय दिईएको हो । उनले आफ्नै नेपाली साथीको हत्या र अर्का सुडानी साथीलाई हत्याका प्रयास अभियोगमा मृत्युदण्ड सजाय पाएको हो । साथै उनलाई पशु करणीको समेत आरोप लागेका थिए ।
रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।
विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भए । ‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा थियो । यो मुद्दाले गर्दा अदालतबाट माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने, ‘नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ हुन सकेन ।’
‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं । तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो ।’ मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ ।
