पूर्णपुष्टि, पुष ३० गते ।
उदयपुरको त्रियुगा नगरपालिका १ मा व्यवसाय गर्दै आएका महिलाहरुलाई क्षमता अभिबृद्ध गर्न तीन दिने “व्यवसायिक उद्यमशिलता विकास तालिम” दिइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला शसक्तिकरण माहाशाखा काठमाडौंको सहयोग तथा त्रियुगा नगरपालिकाको समन्वयमा समाज सेवी समुहले तालिम दिएको हो ।
विगत लामो समयदेखि स्थानीय मिलिजुली वचत तथा ऋण सहकारी संस्थामा आवद्ध रही विभिन्न व्यापार व्यवसाय गर्दै आएका महिला समुहका सदस्यहरुलाई संस्थाले “महिला शसक्तिकरण तथा दिगो जिविकोपार्जन कार्यक्रम” मार्फत तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक विनोद कार्कीले बताए । उहाँका अनुसार स्थानीय मिलिजुली साकोस समुह जोगीदहको सभाहलमा सञ्चालित तालिममा ६ वटा महिला समुहका ३० जना महिला उद्यमीहरु सहभागि भएका थिए ।
तालिममा महिलालाई कसरी व्यवसायिक बनाउने, आम्दानीको स्रोत बढाउने, दिगो व्यवासय सञ्चालन र व्यापारमा अभिबृद्धी कसरी गराउने भन्ने बिषयमा कार्यक्रम संयोजक विनोदकुमार कार्की र दुर्गानन्द चौधरीले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मनोजकुमार चौधरीले व्यापार व्यवसायमा महिलाहरुको क्षमता अभिबृद्ध गराउन वडाबाट सहयोग हुने बताए । सहभागिहरुले तालिमबाट आफूलाई उद्यम तथा व्यवसाय संचालन गर्न ज्ञान, सीप प्राप्त भएको बताएका थिए ।
