Sunday, May 17News That Matters

उदयपुरको बेलकामा ३ करोड लागतमा शीत भण्डार बन्ने

पूर्णपुष्टि, साउन २४

उदयपुरको बेलका नगरपालिका–१ आमबासीको खयरघारीमा ३ करोड लागतमा शीत भण्डार निर्माण गर्न लागिएको छ । तरकारी तथा कृषि उत्पादनको पकेट क्षेत्र मानिने प्रदेश १ को उदयपुरमा शीत भण्डारको अभावले गर्दा वर्षेनी कृषकहरु मारमा पर्दै आएका छन् । कृृषकहरुको उक्त समस्यालाई समाधान गर्नका निम्ती प्रदेश सरकार र बेलका नगरपालिको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डारको शिलान्यास प्रदेश–१ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कला घलेले शुक्रबार एक कार्यक्रम गरी गरेकी हुन् ।

कुल ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने शीत भण्डार आगामी असोज मासान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । करिब ५ सय टन क्षमताको शीत भण्डार केन्द्र निर्माण गर्न लागिएको छ । ६ वटा च्याम्बर निर्माण हुने भण्डारमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल राख्न साथै २ वटा च्याम्बरमा मासु तथा दूध स्टोर गर्न निर्माण गरिने छ । निर्माणको जिम्मा काभ्रेको बिजि कन्ट्रक्सन र काठमाडौं कोल्ड सेन्टरले पाएको छ । शीत भण्डारका लागि चालू आर्थिक वर्षमा बेलका नगरपालिकाल १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । प्रदेश सरकारको २ करोड लगानी यसमा रहने छ ।

मासुसहित तरकारी तथा फलफूल राख्न मिल्ने बहुउद्धेश्यीय शीत भण्डार बनाइने नगरपालिका प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनभयो ।

यो कामको विषयमा आफु निर्वाचित भएर आएकै समयमा सोच बनाएको र गतवर्ष कोरोनाका कारण ठेक्का लगाउन नसक्दा १ कारोड बजेड गुमाएर पनि यस वर्ष फेरी बजेट विनियोजन गरेर काम अगाडी बढाएको जानकारी दिनुभयो । उनले कृषक हरुले उत्पादन गरेको आलुको सिजनमा जसरी पनि राख्ने वातावरण मिलाउने गरी काम आगाडी बढाइएको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै बेलका नगरपालिकाकी उप–प्रमुख राजकुमारी चौधरीले किसानले उत्पादन गरेको कृषि उपजहरु लामो समय सम्म राखेर बजार भाउ आएपछि बिक्रि गर्न मिल्ने भएको भन्दै यसबाट नगरमा रहेका कृषहरुलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री कला घलेले कृषिलाई व्यवसायीकरण गराउन शीत भण्डार कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री घलेले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिनुभयो ।

शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने नगरपालिकाले जनाएको छ । नेपाल सरकारका पूर्व सचिव विश्व प्रकाश पण्डितले शित भण्डार निर्माणका लागी १ विगाहा जग्गा प्रदान गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै शुक्रबारै सोहि स्थानमा बसपार्कसमेत शिलान्यास भएको छ ।

जग्गा दान गर्ने पण्डिलले आफ्नै जग्गामा बसपार्ककोे शिलान्यास गरेका हुन् । उहाँले आफ्नै लगानीमा बसपार्क बनाउन लागेको जानकारी दिनुभयो ।