
पूर्णपुष्टि, साउन १७
उदयपुरको कटारीस्थित मरुवामा सोलु करिडोरको टावर राख्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । उक्त झडपमा पाँच जना सर्वसाधारण घाइते भएका छन् । रिता राई, कपिल राई, लक्ष्मी मगर र गोमा मगर घाइते भएका हुन् । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक माओबादी केन्द्रका स्थानीय नेता केपी बरालले बताए ।
दुई पक्षबीच झडपको स्थिती सिर्जना भएपछि कटारीका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले करिडोर आयोजना प्रमुखसँग वार्ता गरेको थिए । तर वार्ताले कुनै निस्कर्ष ननिकालेको समिति संयोजक बरालले जानकारी दिए ।
आयोजना प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरका जनप्रतिनिधिलगायतका सरोकारवालाहरुसँग वार्ता गर्नुपर्ने, प्रहरी मरुवास्थित विद्यालयमा राखिएको अस्थायी प्रहरी बसोबास तत्काल हटाउनु पर्नेलगायतका माग आन्दोलनरत पक्षको छ । प्रहरी–स्थानीयको घम्साघम्सीपछि कोणसभा समेत भएको थियो । सो क्रममा बोल्दै संयोजक बरालले घाइतेहरुको उपचारमा आयोजनाले क्षतिपूर्ति दिनुपर्ने र आफ्ना मागहरु वार्ताको माध्यमबाट समाधान हुनुपर्ने बताएका थिए ।
स्थानीयको बिरोधपछि कटारी ४ स्थित मरुवामा तीन वर्षअघि देखि करीडोरको काम रोकिदै आएको छ । स्थानीय प्रशासनले प्रहरी परिचालन गरेरै बलपूर्वक आयोजनाको काम अगाडि बढाएपछि सर्वसाधरण एकजुट भएर आयोजनास्थल पुगेका थिए ।
