
पूर्णपुष्टि, असार २५ ।
कोरोनाले विश्वको कुनै देश अछुतो रहेन । यसै प्रकार देशको ७७ वटा जिल्ला मध्ये उदयपुर पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु पर्यो ।
यो खबर तयार हुँदासम्म अर्थात २०७८ असार २० गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४९ जनाको मृत्यु भयो भने जिल्लामा २ हजार ४०१ ज्ना संक्रमित भए । त्यसमध्ये १ हजार ९५३ जना निको भइसकेका छन् भने ३९९ जना संक्रिय संक्रमित रहेका छन् ।
उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय प्रशासनले निशेधाज्ञ जारी गर्यो । पटक पटक थप्दै जाँदा निकै लामो निशेधाज्ञ भएको जिल्ला अहिले खुकुलो पारिएको छ । यसबीच मानिसहरुले थुप्रै सास्ती, कष्ट, अभाव खप्नु पर्यो । यो परिस्थितिजन्य बाध्यता थियो । 
यो विपद्को घडीमा स्थानीय सरकारले आप्mनो पालिका र जनतालाई जोगाउने प्रयास स्वरुप विविध कदम चालेको पाइन्छ । यसैसन्दर्भमा उदयपुरको गाउँपालिका मध्येको उदयपुरगढी गाउँपालिकाले कोरोना विरुद्धको कदमहरु चालेपछि अहिले कोरोनामुक्त बनेको छ ।
उदयपुरगढी गाउँपालिकामा गत वैशाख ३० गतेका दिन ६ जना कोरोना संक्रमित थिए । जेठ ७ सम्म आउदा यो संख्या बढेर २१ जना पुग्यो । २१ संक्रमित मध्ये १ जनाको मृत्यु भयो । वडा नं. ६ को ५६ वर्षिय महिलाको मृत्यु, उदयपुरगढीमा कोरोनाले मृत्यु हुनेको पहिलो घटना बन्यो । त्यसको लगत्तै भोलीपल्ट वडा नं. ७ का ४७ पर्षिय पुरुषको मृत्यु भयो । सक्रिय संक्रमितको संख्या २५ पुगेको थियो । यसले पालिकाको समुदाय स्तरमै कोरोना फैलिएको मात्र नभइ उच्च जोखिमको संकेत गर्यो । सिंगो जिल्लासंगै यो पालिकामा संक्रमणमा बढ्दै गएको थियो ।
यसबेला पालिकाको सिंगो संरचना कोरोना रोकथाम तथा नियन्त्रणमा जुटिरहेको थियो । विकास निर्माण भन्दा पहिले पालिकाबासीको जीवन रक्षामा लाग्नु पर्ने अवस्था पर्यो । त्यसै अनुरुप यहाँका जनप्रतिनिधि, कर्मचारी, संघसंस्था, नागरिकसमाजहरु लागी परेको पालिका अध्यक्ष मानबहादुर मगरले बताउनुभयो । 
पालिकाले गाउँगाउँमा कोरोना विरुद्धको जनचेतना फैलाउने, निशेधाज्ञ पालना गराउने, स्वास्थ्य मापदण्ड अपनाउन लगाउने कामसंगै स्वास्थ्य सामग्री वितरण तथा कोरोना परिक्षण गराउने काम गर्यो । पालिका आफैले एन्टिेजेन किट किनेर परिक्षणको दायरा बढाएसंगै संक्रमित फेला पर्ने क्रम पनि बढ्यो । संक्रमितहरुलाई उचित हेरचाह र उपचारको ब्यवस्था पालिकाले मिलायो । स्वास्थ्य समस्या भएकालाई संस्थागत आइसोलेशनमा र सामान्य अवस्थाका वा लक्षण नदेखिएकालाई होम आइसोलेशनमा राखेर निगरानी तथा उपचार गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताउनुभयो ।
जेठ २२ मा थप एकजना मृत्यु संख्या थपियो । वडा नं. ३ का ५२ वर्षिय पुरुषको मृत्यु भएको हो । योसंगै पालिकामा मृत्यु हुनेको संख्या ३ पुग्यो । कुल संक्रमित ५६ जना मध्ये ३ जनाको मृत्यु, ६ जना निको र ४७ जना सक्रिय संक्रमित थिए । यो सक्रिय संक्रमितको संख्या पालिकाको सबैभन्दा ठुलो हो ।
त्यसयता क्रमशः घट्दै जाँदा यो समाचार तयार पार्दासम्म अर्थात आज असार २० गतेसम्ममा पालिका कोरोनामुक्त बनेको छ । अर्थाक सक्रिय संक्रमितको संख्या सुन्यमा झरेको छ । जेठ २७ सम्म सक्रिय संक्रमितको संख्या बढि रहेपनि २८ गतेदेखि यता निको हुनेको संख्याले जित्दै गयो । त्यसयता पालिकामा कोरानाको कारण कसैको मृत्यु पनि भएको छैन ।
स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांक अनुसार २८ गते एकैदिन २५ जना निको भएसंगै पालिकाको निको हुनेको कुल संख्या ३४, सक्रिय संक्रमितको संख्या १९ भयो । यो रेकर्ड, असार ४ गतेसम्ममा आउदा सक्रिय संक्रमितको संख्या सुन्य र निको हुनेको संख्या ५३ पुगेको देखिन्छ । त्यसको ३ दिनपछि एकजना संक्रमित थपिएकोमा उनी पनि निको निको भइसकेका छन् ।
संक्रमण धेरै फैलन नदिन र धेरै नागरिकको जीवन बचाउन पालिका सफल भएको अध्यक्ष मगरले बताउनुभयो । बेलैमा कोरोनाविरुद्धका कदमहरु चालेकाले प्रभावकारी बनेको पालिकाको दावी छ ।
पालिकाका स्वास्थ्य इन्चार्ज जयनारायण यादवका अनुसार समग्रमा उदयपुरगढीमा ३७ महिला र ७० पुरुष गरी १०७ जनाको कोरोना परिक्षण हुँदा २१ म्हिला ३६ पुरुष गरी ५७ जना संक्रमित भेटिएका हुन् । त्यस मध्ये २० महिला र ३४ पुरुष गरी ५४ जना निको भएका छन् । १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भयो ।
कोरोना महामारीबाट पालिकाबासीलाई जोगाउन थुप्रै चुनौती देखा परे । तरपनि हार नमानी निरन्तर लागी परेको परिणाम स्वरुप आज पालिका कोरोनामुक्त बनेको पालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो ।
भुगोल र जनसंख्याको हिसावले चार नगरपालिकापछि चार गाउँपालिकाहरु मध्येको सबैभन्दा ठुलो गाउँपालिका उदयपुरगढी हो । ८ वटा वडाहरु मध्ये वडा नं. ६ नेपालटार र वडा नं. ३ जरुवा बर्रे बढि प्रभावित वडाहरु हुन् । 
हाललाई कोरोनामुक्त भएपनि जिल्ला र देशमै कोरोनाको महामारी संक्रमण कायमै रहेकाले सतर्कता अपनाउने र परिक्षणको कार्यलाई निरन्तरता दिने पालिकाले जनाएको छ । साथै आप्mना ३० हजार ७८० पालिकाबासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहल रहेको पालिकाले जनाएको छ ।
पालिकाले कोभिड महामारीको सामना गरेसंगै विकास निर्माण तथा पालिकाले सम्पादन गर्नुपर्ने कामहरुसमेत पुरा गर्न सफल भएको छ । कोरोना, एक महामारी विपद्को रुपमा आएको समस्या हो । यस्तो बेला नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । धेरै संक्रमण फैलन नदिन र नागरिकहरुको जीवन रक्षामा, पालिका सफल देखिएको पालिकाको दावी छ ।
