Tuesday, June 9News That Matters

उदयपुरमा कोरोना संक्रमित २७९ पुग्यो, ७ जनाको मृत्यु

पूर्णपुष्टि, वैशाख २९ ।

उदयपुरमा आज दुई वडाध्यक्षसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । दुई वडाध्यक्ष त्रियुगा नगरपालिकाका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका १६, कटारी नगरपालिकाका १५ र उदयपुरगढीका १ जना रहेका छन् ।

कोरोनाका कारण उदयपुरका दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा त्रियुगा नगरपालिका ५ का ५० वर्षिय महिला रहेकी छिन् । उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । त्यसैगरी त्रियुगा नगरपालिकाकै वडा नं. १३ का ३६ वर्षिय युवकले पनि ज्यान गुमाएका छन् । उनको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

संक्रमित अधिकांशलाई होम आइसोलेशनमा राखिएका छन् । संक्रमित मध्ये २ सय ४३ जना होम आ्इसोलेशनमा छन् भने बाँकीको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।

जिल्लाको एकमात्र बेल्टार कोरोना अस्पताल २२ जनाको उपचार चलिरहेको छ । अस्पताल स्रोतका अनुसार २५ जना रहेकामा दुईजना आज निको भइ घर फर्केका छन् भने सामान्य स्वास्थ्य अवस्थाका कारण एकजना होम आइसोलेशनमा गएको जनाइएको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च रहेको छ भने बेलका नगरपालिकाले संख्यामा पछ्याइरहेको छ । त्रियुगामा आज १६ जना थपिएसंगै १ सय ४६ जना संख्या पुगेको छ भने बेलकामा ५६ जना रहेका छन् ।

चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह मध्येको त्रियुगा नेपालमा सबैभन्दा पहिले ठूलो संख्यामा कोरोना भेटिएको पालिका हो । गत वर्षको वैशाख ५ गते त्रियुगा नगरपालिकाको वडा नं. ३ भुल्केमा एकैदिन १२ जनामा कारोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिकामा आज १५ जना थपिएसंगै कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । चौदण्डीगढी नगरपालिकामा २५, रौतामाई गाउँपालिकामा १०, उदयपुरगढीमा आज १ जना थपिएसंगै ६ जना र लिम्चुङबुङ गाउँपालिकाका १ जना संक्रमित रहेको छन् । दोस्रोचरणको कोरोनाकालमा हाल ताप्लीमा भने संक्रमित भेटिएको छैन ।

देशभर कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ । ९ हजार ३ सय ५ जना थपिएसंगै संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ सय ६८ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको हो । आज ४ हजार ४ सय ४४ थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड नाघेको छ । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ३ लाख ८० हजार ४ सय २३ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ३३ हजार १ सय ४१ छ भने निको हुनेको संख्या १३ करोड ८१ लख ६९ हजार ६ सय २१ रहेको छ ।