Tuesday, June 9News That Matters

उदयपुरमा पनि चिनियाँ भेरोसेल खोप लगाउन सुरु

पूर्णपुष्टि, जेष्ठ २५

उदयपुरमा पनि आज (मंगलबार) बाट कोरोना विरुद्धको चिनियाँ भेरोसेल खोप लगाउन सुरु भएको छ । ६२ देखि ६४ वर्ष उमेर समुहकालाई पहिलो चरणको खोप आजबाट लगाउने सुरु भएको हो । ।

६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रामा भेरोसेल खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिनुभयो ।

उदयपुरका आठ वटै पालिकामा जेठ २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पालिका केन्द्र वा नजिकको अस्पतालको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।

बेलका नगरपालिका नगर अस्पताल रामपुर, चौदण्डीगढी नगरपालिकाको नगर अस्पताल बेल्टार र उदयपुरगढी गाउँपालिका केन्द्रमा जेष्ठ २५ र २६ गते खोप लगाउन सकिने निरौलाले बताउनुभयो ।

निरौलाका अनुसार कटारी अस्पतालमा जेष्ठ २६ र २७ गते, ताप्ली गाउँपालिकामा जेष्ठ २७ र २८ गते, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा जेष्ठ २८ र २९ गते खोप लागाउन सुरु गरिने छ ।

यस्तै जिल्ला अस्पताल बोक्सेमा जेष्ठ २७, २८, २९ र ३० गते खोप लगाइने छ ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथमा लैजानु पर्नेछ । भेरोसेलको पहिलो खोप लगाएकाको तर दोस्रो खोप नलगाएकाहरुलाई पनि खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार तोकिएको उमेर समूहका व्यक्तिहरुबाहेक अन्य व्यक्तिहरुले यो खोप लगाउन पाउने छैनन् ।