Wednesday, July 22News That Matters

उदयपुरमा प्रहरी दिवस भब्यरुपमा सम्पन्न, उत्कृष्ट काम गर्नेदेखि अमर प्रहरी परिवारसम्मलाई सम्मान, पुरस्कार प्रदान

पूर्णपुष्टि, असोज ३०

कोरोनाप्रतिको उच्च सतर्कतासहित ६५ औं प्रहरी दिवस उदयपुरमा आज मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आज विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न पार्टीका नेता, सुरक्षा प्रमुखहरु, नागरिक समाज, पत्रकार, पूर्व प्रहरीहरु, अमर प्रहरी, परिवारहरुको सहभागिता थियो ।

दिवसको अवसरमा दुईदिनअघि भगवती मन्दीर परिषर सरसफाई गरिएको थियो । त्यस्तै हिजो जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रक्तदान कार्यक्रम भएको थियो । त्यसैगरी जिल्ला प्रहरी र मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानसमेतको सहभागितामा पुरुष दौड, महिला दौड, रस्साकसी (डोरी तानातान) खेल प्रतियोगिता भएको थियो ।
उक्त अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरीअधिकृत देखि जवानसम्मका १० जनालाई पुरस्कृत गरिएको थियो । खेलकुदका विजयीहरुलाई दिवस समारोहमा पुरस्कृत गरिएको थियो । साथै समारोहमा एसइइ परिक्षामा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने वहालवाला, पूर्व प्रहरी र अमर प्रहरी परिवारका विद्यार्थीहरुलाई १० हजार छात्रबृत्ति नगदसहित सम्मान गर्नुका साथै अमर प्रहरीका परिवारहरुलाई सम्मान गरिएको थियो ।
दौड प्रतियोगितामा जुनियर प्रहरी अधिकृततर्फ प्रथम प्रसनि सुनिलकुमार गौतम, दोस्रो प्रसनि विमल श्रेष्ठ र तेस्रो प्रसनि विष्णुबहादुर पाण्डे भएका थिए । त्यस्तै प्रहरी हवल्दारतर्फ प्रथम कालुप्रसाद उराव, दोस्रो युवराज श्रेष्ठ र तेस्रो रमेशकुमार राई भएका थिए । प्रहरी जवानतर्फ प्रथम तेजबहादुर कार्की, दोस्रो जयप्रसाद यादव र तेस्रो मिलनकुमार लिम्बु भएका थिए ।

महिला प्रहरी दौडमा प्रथम प्रहरी जवान उषा राई, द्वितिय प्रज पबिस्ना बुढाथोकी र तृतीय निर्मला खड्का भएकी थिइन् । उनीहरु सबैलाई ट्रफि, खादा र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी रसाकस्सी (डोरी तानातान) खेल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको टिम प्रथम, इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाको टिम दोस्रो र इलाका प्रहरी कार्यालय बेल्टार तेस्रो भएको थियो । विजयी सबै खेलाडीहरुलाई प्रमाण पत्र  प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजिअ पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी सशिकुमार लम्साल, जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल, सशस्त्र प्रहरी एसपी सुधिर सुवेदी, रणसार्दुल गण बोक्सेका गणपती  राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक देवराज लिम्बु, अर्जुन बोहरा लगायतले विजयी खेलाडी तथा अमर प्रहरीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साथै महिला हिंसा विरुद्ध सशक्तरुपमा लागेको ओरेक नेपाल, उदयपुरलाई पनि प्रहरीले कदरपत्र प्रदान गरेको छ । सामुदायिक प्रहरी चौदण्डीगढीको पनि कामको उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरेको छ । कार्यक्रममा नेकपाका जिल्ला सचिव इश्वरमणी राउत लगायत नेपाली कांग्रेस जनता समाजवादी पार्टी लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीको प्रहरी सन्देश पढेर सुनाइएको थियो । प्रजिअ पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीको कामको उच्च मूल्यांकन र प्रशंसा गर्नुभयो । जिल्ला प्रहरी प्रमुख दाहालले समाजमा शान्ति सुरक्षा कायम गराउन प्रहरी अहोरात्र खटिरहने र प्रहरीलाई नागरिकहरुको सहयोग अति आवश्यक हुने बताउनुभयो ।

फोटो फिचर