
पूर्णपुष्टि, जेठ ३० ।
उदयपुरमा थप ३ जना कोरोना संक्रमित पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
जिल्लाको बेलका नगरपालिकामा ३ जना आज कोरोना संक्रमित पुष्टि भएको हो । २२, २६ र ३३ बर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । २ जना बेलका वडा नं. ९ का हुन् भने एकजना वडा नं. ३ को रहेको बुझिएको छ । उनीहरु तीनै जना भारतबाट आइ क्वरेन्टाइनमा बसेका थिए ।
गएको १९ गते झापाको गौरिगञ्ज नाका हुदै आएका उनीहरु मध्ये २२ र २६ वर्षे पुरुषहरु रामपुरको सिटिहल क्वारेन्टाइनमा बसेका थिए भने अर्का एकजना बुद्धचौक क्वारेन्टाइनमा रहेका थिए ।
उनीहरुको स्वाव नमुना संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परिक्षणका लागि पठाइएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो । उनीहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचारका लागि लैजाने तयारी भईरहेको बुझिएको छ ।
योसंगै बेलका नपामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । पाँचदिनअघि बेलकामा २ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उदयपुरमा भारतबाट आएका उदयपुरे नागरिकमा संक्रमण देखिदै आएको छ ।
