
उदयपुर, चैत ५ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्राफिक नियम उल्घंन गर्ने सवारी साधनलाई ‘ह्वील लक’ कारबाही सुरु गरेको छ । सडक दुर्घटना नियन्त्रण गर्नका लागी पहिलो पटक बुधबारदेखि सवारी साधनहरुलाई ‘ह्वील लक’ कारबाही सुरु गरेको हो ।
नियम मिच्ने सवारी साधनकै कारण दुर्घटना बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नका लागी ‘ह्वील लक’ कारबाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ‘ह्वील लक’ कारबाही सुरु गरेको दिन नै ७७ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सई होमप्रसाद खनालले बताए ।
‘ह्वील लक’ कारबाहीमा ४७ वटा चारपाङ्ग्रे सवारी साधन, २१ वटा मोटरसाईकल र ९ वटा टेम्पो कारवाहीमा परेका थियो । उक्त सवारी साधनबाट ५९ हजार पाँच सय राजस्व संकलन भएको सई खनालले बताए ।
‘ह्वील लक’ कारवाहीबाट सर्वसाधरण नागरिक सचेत हुने प्रहरीले जनाएको छ । सदरमुकाम गाईघाटबाट सवारी साधनको पाङ्ग्रामा साँचो (ह्वील लक) लगाउने अभियान शुरु भएको हो । जिल्लाको पश्चिम नाका कटारी र बेल्टारल गायतका व्यापारिक नाकाहरुमा ‘ह्वील लक’ को आवश्यता रहेको प्रहरीले जनाएको छ ।
अहिले जिल्लामा २ वटा मात्रै ‘ह्वील लक’ मेसिन रहेको छ । गाईघाट बजारमा हुने अनावश्यक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले चार पाङ्ग्रे सवारी साधनलाई सचेत तथा दुई पाङ्ग्रे (मोटरसाईकल)को हेल्मेट नियन्त्रणमा लिने गरेको थियो ।
