
पूर्णपुष्टि, साउन २६
उदयपुरमा एकजना ३१ वर्षीया महिलाले आत्महत्या गरेकी छिन् । बेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरीले आत्महत्या गरेकी हुन् । चौधरीलाई आत्महत्या गर्न प्रोत्साहित गरेको अभियोगमा त्रियुगा–३ ठाँडीका विष्णु देव पंजियारलाई प्रहरीले पक्राउ गरेको छ ।
विष्णु देव र सावित्रा डेढ वर्षदेखि प्रमे सम्बन्धमा थिए । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् ।
पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । एसपी बोहराका अनुसार डेढ वर्षदेखि उनीहरुको बिच जिनजान र सम्बन्ध थियो । विष्णु नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुबा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुर गरेका छन् । मृतका बुबाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
विष्णुदेव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन । साउन २२ मा प्रेमीको घरमा जाँदा त्याहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव अर्की युवतीको बिच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ । सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो राजिन् । मुलुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसारर आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।
