पूर्णपुष्टी, पुष ७
उदयपुरमा दोस्रो खाना परिकार महोत्सव संञ्चालन भैरहेको छ । ७ दिन सम्म संञ्चालन हुने उक्त महोत्सव ४ गतेबाट सुरु भएको थियो । प्रदेश स्तरीय यो महोत्सव उदयपुरमा दोस्रो चोटी आयोजना गरिएको छ ।
उक्त महोत्सवमा बिषेशगरी आदिवासी जनजातिहरुको परिकारलाई प्रदर्शनमा राखिएको छ । यहाँका आदिवासी जनजातिहरुको पहिचान झल्कीने खानाहरुलाई बिषेश जोड दिईएको अवस्था छ । आयोजका अनुसार यहाँ, राई, श्रेष्ठ, दनुवार, थारु, मगर, भुजेल, माझी, शेर्पा जस्ता जातजातिहरुले बिषेश परिकारहरुको प्रदर्शन गरेको छ । महोत्सवमा किराँती राईसमुदायहरुले विभिन्न ७ थरी भन्दा बढी ऐतिहाँसिक खाना परिकार र पहिचान अनुसारका परिकारहरु राखिएको छ । खाना परिकारमा सहभागी साहिमा राईका अनुसार महोत्सवमा किराँतीहरुको परिकारमा कोदोको ढिँडोँ, लोकल भालेको मासु, ढँगामा रपाको सेकुवा, चाम्म्रे, सिन्की गुन्दु्रको अचार, तुम्वा, किनिमाको अचार, कठुवाको लोकल रक्सी लगायतका पहिचानमुखी परिकारहरु रहेको छ ।

यो कतिपय परिकार भने गाउँघरमा प्रचलित भएकाले महोत्सवको स्टलमा निकै महत्वका साथ हेरिएको राईले जनाईन् । तर यी परिकारहरु पछिल्लो समय समुदायहरुमा निकै लोपन्मुख समेत भैसकेको अवस्था छ । किराँती समुदायमा यो लोपन्मुख परिकारहरुलाई फर्काउन र अन्य समुदायमा चिनाउन पनि यो परिकारहरुले मुख्य भुमिका खेलेको राईले जनाईन् । यस्तै गरी नेवारी खानाहरुमा यमरी चाकु, यमरी खुवा, चतामरी, चतामरी मसला, छ्योला, तखा, सादा, अण्डा बारा, मिट बल, आलु फ्राई लगायतका परिकारहरु राखिएको छ । यस्तैगरी थारु परिकारहरुमा रोटी, बंगिया, घोङ्गी, बचरी बरी, चप, सितुवा, गोरामाछ, तेलपोर रोटी, पोरोवाके मासु, लोकल मुर्गा, हासिन, काँखोर लगायतका परिकारहरु रहेका छन् भने दनुवारको अण्डीको निगार, अण्डीको चिचउरी, बगिया रोटी, माछाको पुसुन, गंगटाको सिटन, चटनी सोक्नो, गुन्द्रुक, तोटेला, पिनाको सिटन, केराको बुँगाको अचार, बर्मिको सिटन आदि परिकारहरु रहेका छन् । यस्तै सेर्पाहरुको पनि आफ्नै संस्कार पहिचान अनुसारका परिकारहरु राखेका छन् ।

