Sunday, June 21News That Matters

एकैदिन उदयपुरमा काेराेनाले चार जनाकाे मृत्यु | काेराेना खबर अपडेट | २ जेठ, २०७८ | बरिष्ठ पत्रकार काैशल चेम्जाेङसंग विशेष संवादसिहत – भिडियाे

पूर्णपुष्टि, जेठ २ ।

उदयपुरमा आज कोरोनाले ४ जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोरोना अस्पताल उदयपुरमा मृत्यु भएको हो । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरको मृत्यु भएको जनाइएको छ । मगर ४ दिनअघि सो अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेको  र अक्सिजन दिएपछि राम्रो हुने गरेका थियो । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ । उदयपुरको अस्पतालमा मत्यु भएको यो पहिलो घटना हो ।

सागर डिजिटल फाटो स्टुडियो गाईघाटका सञ्चालक विष्णुदेव चौधरीको पनि मृत्यु भएको छ । ४७ वर्षिय चौधरीको उपचारको क्रममा विएमसि हस्पिटल विर्तामोडमा मृत्यु भएको जनाइएको छ । चौदण्डीगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज कोइरालाको पनि  कोरोनाको कारण ज्यान गएको छ । उनको नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको जनाइएको छ ।

अर्का एकजना त्रिनपा १२ डिएम गेटको ५१ वर्षिय मोहमद ईवराईन रहेका छन् । विराटनगरको गोल्डेन हस्पिटलमा कोरोना परिक्षण गर्दा पुष्टि भएपछि आज ग्रिनक्रस  हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

आजको मृतक चारजनासहित उदयपुरमा जम्मा मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ३ महिला र ८ पुरुषको कोरोनाले मृत्यु भएको हो । मृतकहरु मध्ये ७ जना त्रियुगा नगरपालिकाको, ३ जना चौदण्डीगढी नगरपालिका र १ जना कटारी नगरपालिकाको हो ।

यसैबीच उदयपुरमा कोरोन संक्रमित बढ्दो क्रम जारी छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित पुष्टि भएका छन् । त्रियुगा नगरपालिकाका ११, चौदण्डीगढी नगरपालिकाका ६ जना र रौतामाई गाउँपालिकाको २ जनामा संक्रमण पुष्टि भएको हो । ५३ जनाको परिक्षण गरिदा ६ महिला र १३ पुरुष गरी १९ जना संक्रमित भेटिएका हुन् ।

यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ८७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  संक्रमितहरु मध्ये ३ सय ५४ जना होम आ्इसोलेशनमा छन् भने २३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।

उदयपुरमा कोरोना जितेर निको हुनेको संख्या २३ पुगेको छ । पछिल्लो समय ९ जनाले कोरोनालाई जितेर निको भएका हुन् । उनीहरु कोरोना मुक्त भइ घर फर्केका छन् ।

उदयपुरका आजका मृतकहरु मध्ये चौधरी र मगरको अन्यष्टी गाईघाट नजिकै त्रियुगा नदिमा आज जलाइएको छ । चौधरीको शब नेपाली सेनाले ब्यवस्थापन गरी जलाएको हो भने मगरको परिवारले नै जलाएको हो ।

चौधरीको परिवारले प्रशासनलाई गुहारे पछि जिल्ला स्थित नेपाली सेनाको कोरोना संक्रमित शब ब्यवस्थापन टोलीले अस्पतालबाट ल्याएर त्रियुगामा अन्त्येष्टी गरेको हो । मगरको शब भने बेलैमा प्रशासनसंग समन्वय नगरेकाले सेनाले ब्यवस्थापन गर्न नसकेको र परिवारले नै ल्याएर अन्त्येष्टी गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो ।

प्रजिअ सेढाईका अनुसार हाल कोरोनाले मृत्यु भएकाको परिवारले आफै अन्त्येष्टी गर्ने इच्छा जनाएमा अन्त्यष्टी गर्न मिल्छ । तर, स्वास्थ्य मापदण्ड अपनाउन अनिवार्य छ । आज मगरको शब अन्त्यष्टीका लागि स्वास्थ्य कार्यालयले मगरको परिवारका सदस्यहरुलाई पिपीइ सेट उपलब्ध गराएको र सुरक्षितरुपले अन्त्यष्टी गरेको जनाइएको छ ।

चौदण्डीगढीका कोइरालाको शब विराटनगरमै ब्यवस्थापन गरी अन्तेष्टी गरिएको परिवारलाई उदृत गर्दै प्रशासनले जनाएको छ । अर्को एकजनाको भने अन्तेष्टीको खबर आएको छैन ।

चौदण्डीगढी नगरपालिका स्थित बेल्टार कोरोना हस्पिटलमा आज उपचारमा १५ जना रहेका छन् । हिजो २३ जना रहेकामा एकजना आज विहान सो हस्पिटलबाट मृत्यु भएको र अन्य निको भएर फर्किएको जनाइएको छ ।

उदयपुरको चौदण्डिगढी नगरपालिका स्थित कोरोना अस्पतालमा उपचाररत एक जना संक्रमितको आज मृत्यु हुदा जिल्लाको अस्पतालमा संक्रमितको मृत्य पहिलो घटना बनेको छ ।

त्रियुगा नपा – १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार  मृत्यु भएको हो । हिजोसम्म उदयपुरभित्रकै अस्पतालमा संक्रमितको मृत्यु भएको थिएन । यसअघि उपचारको क्रममा जिल्लाबाहिर अस्पताल गएकाहरुको मात्र कोरोनाले मृत्यु भएको थियो । त्यसरी मृत्युहुनेको संख्या हिजोसम्म ७ रहेको थियो । यो घटनाले उदयपुर प्रशासन र जिल्लाबासीलाई झस्काएको छ । जिल्लामा कोरोनाको गम्भिर स्थिति देखिएको छ ।

त्रियुगा नगरपालिकाको वडा नंं. १६ का गाउँहरुमा ज्वरोका विरामी ठूलो संख्यामा रहेको खबर छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार वडाको विभिन्न टोलबस्तीमा ज्वरो आउनेको संख्या ठूलो रहेका छन् । वडामा दुईदिन अघि परिक्षण हुदा १५ जनामा संक्रमण देखिएको थियो । विहेमा गएकाहरु अधिकांशलाई ज्वरो आएको भन्ने खबर समेत रहेको उहाँले बताउनुभयो ।

विरामीहरुलाई मध्येनगर गर्दै वडाले सुकौरामा परिक्षण राख्ने भएको छ । आउदो ४ गते ९ बजे सुकौरामा परिक्षण राखिएको वडाध्यक्ष राईले बताउनुभयो ।

वडाभर संक्रमण फैलिएको आशंका गरिएकाले वडाको नाका बेल्दोभान र सुकौरामा सिल गर्ने तयारी भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा देशिभर कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ । ७ हजार ३ सय ६८ जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ५५ हजार २०  पुगेको हो ।

नेपालमा मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर ६ लाख २ हजार ५ सय ८८ जना कोरोना संक्रमितको संख्या थपिएको छ । योसंगै विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ३१ लाख ८४ हजार ६ सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा १० हजार ८ सय ७३ जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ९ सय जना निको हुदा विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड १४ लाख ९९ हजार २ सय पुगेको छ ।