Sunday, June 28News That Matters

एक महिलाको शव फेला, श्रीमान् फरार

पूर्णपुष्टि,फागुन ४

धनुषामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान कमला नगरपालिका–२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको खेतमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेका थियो ।

प्रहरीका अनुसार मृतक संजितादेवीको घाँटीमा निलडाम देखिएको छ । जसकारण उनको हत्या शंकास्पद भएको प्रहरीले जनाएको छ ।

उनको हिजो नै मृत्यु भएको पनि हुन सक्छ । अरू पोष्टमर्टम रिपोर्टपछि थाहा हुने प्रहरीले जनाएको छ ।

घटनापछि उनका श्रीमान् सुखी गडेरी रावत सम्पर्कविहीन छन् । उनी घटना सार्वजनिक भएदेखि नै बेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीका अनुसार सुखी रावतका दुई श्रीमती छन् । मृतक संजितादेवी उनकी जेठी श्रीमती हुन् । प्रहरीले उनको कान्छी श्रीमती सुनिला रावतलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शव पोष्टमार्टम गर्न प्रदेश नम्बर २ को प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ ।