
पूर्णपुष्टि, जेष्ठ २
कोरोना संक्रमितहरुसंग अत्याधिक भाडा असुल गरेको आरोपमा पर्साबाट दुई एम्बुलेन्स चालका पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दिन रायभर र बिन्दवासिनी गाउँपालिका–१ का २२ वर्षीय वीरबल मुखियालाई अत्याधिक भाडा लिएको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरूलाई शुक्रबार बेलुका राति नेसनल मेडिकल कलेज अगाडिको सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवकता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
उनीहरूसँगै ना २ च ३२५६ र बा ३ च ८१९९ नम्बरको एम्बुलेन्स पनि बरामद गरिएको खनालले बताउनुभयो ।
पक्राउ परेकामध्ये ना २ च ३२५६ नम्बरका एम्बुलेन्स चालक कमरुद्दिनले काठमाडौं पु¥याउदा तोकिएको भाडाभन्दा तीन गुणा बढी असुलेको अनुसन्धानबाट पत्ता लागेको छ । उनले १२ हजार रूपैयाँ भाडा लिनुपर्नेमा ४० हजार रूपैयाँ असुलेको जनाइएको छ ।
त्यसैगरी अर्का बा ३ च ८१९९ नम्बरको एम्बुलेन्स चालक मुखियाले वीरगञ्जदेखि पर्सागढी नगरपालिका जाने बिरामीबाट ३५ सय लिनुपर्नेमा ७ हजार रूपैयाँ लिएको खुलेको छ ।
प्रहरीकाअनुसार कोरोना संक्रमणको विषम परिस्थितिको फाइदा उठाउँदै संक्रमित तथा आफन्तबाट बढी भाडा असुलेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो । यसक्रममा एम्बुलेन्ससहित चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुबैलाई कालोबजारी ऐन आकर्षित गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
