Monday, June 22News That Matters

औषधीमा लागुऔषध मिसाएर बेच्ने उदयपुर औषधी व्यवसायी संघका महासचिवको फार्मेसी सिल

पूर्णपुष्टि, जेष्ठ २१

उदयपुरका एक फार्मेसी औषधी पसलबाट औषधीमा लागुऔषध मिसाएर बिक्रि वितरण गरेको खुलेको  छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित गोपिकृष्ण मेडिकल सञ्चालन गर्दै आएका बिरेन्द्र कुमार झाले औषधी सँगै नसालु लागुऔषध समेत मिसाएर बिक्रि वितरण गरेको भन्दै पसल सिल गरिएको छ । औषधी व्यवसायीबाटै लागुऔषाध विक्रि वितरण गर्ने कार्य भएपछि फार्मेसी सिल गरेको हो । झा आफै औषधी व्यवसायी संघ उदयपुरका महासचिव पनि हुन् ।

बिहीबार औषधि व्यवस्था विभाग बिराटनगरको टोलीले जिल्लाको पुर्वि क्षेत्र चौदण्डिगढी र बेलका नगरपालिकाका औषधि पसलमा छड्के चेकगर्दा यस्तो तथ्य फेला परेको हो ।

झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागुऔषध बनाउने र सेवनकर्तालाई विक्रीवितरण गर्ने गरेको फेलापरेको  औषधि व्यवस्था विभागका प्रमुख संजिव कटेलले जानकारी दिए । यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुम झुम भईरहने, एकोहोरिने जस्ता लक्षण देखिने कटेलले बताए ।

उनले भने, ‘विभिन्न थरीका औषधि मिसाएर लागुऔषध बनाई बिद्यालय क्याम्पस पढ्दै गएका १५÷१६ बर्ष उमेरका किशोरलाई विक्री गरेको भन्नै उजुरी परेकाले छड्के चेकजाँच गर्दा पुष्टि भएको हो । झालाई एक बर्षअघि पनि विभागले यही घटनामा पक्राउ गरी २५ दिन कार्वाही गरी छाडेको थियो ।

पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार थप हदैसम्मको कार्वाही गरिने प्रमुख कटेलले बताए । टोलीले उनको फार्मेसी सिल गरी पाच दिन भित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेकोछ । टोलीले बिहीबार नै विना इजाजत, तोकिएको जनशक्ति वेगर र मापदण्ड विपरित सञ्चालन गरिएका थप पाच वटा औषधि पसलमा सिल गरेको छ ।

डेढ दर्जन औषधि पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको उनले बताए । त्यसक्रममा टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका तीन वटालाई प्रहरीमार्फत पत्र काटिएको कटेलले बताए । टोलीले तोकिएको जनशक्ति विना र नविकरण नगरी सञ्चालन गरिएको बेलका नगरपालिका ४ संजिवनी मेडिकल, सोही ठाउँमा विना दर्ता सञ्चालित यादव मेडिकल, ठाउसारी र जनशक्ति वेगर सञ्चालित सोही ठाउँको वारहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ ।

त्यसैगरी रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नाम वेगरको औषधि पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकुल औषधि पसलसमेत सिल गरिएको छ । जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथामिकता दिइ धेरै औषधि विक्री गरेको फेला परेपछि अनुकुललाई सिल गरिएको उनले बताए ।

कोभिड–१९ को परिस्थितिमा सरकारको उपस्थिति कम हुँदा औषधि पसलले जथाभावि औषधिको मुल्य बढाएको, विक्री गरेको, लागुऔषधको कारोवार गर्ने गरेका विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तिव्रता दिएको उनको भनाई छ । चेकजाँचलाई थप प्रभावकारी बनाउँदै अन्य ठाउँमा पुगिने उनले बताए ।