
पूर्णपुष्टि, जेठ ७ ।
कटारी । उदयपुरकाे एक मुख्य ब्यापारिक केन्द्र कटारीबजारका एक पुरानाे र प्रतिष्ठत ब्यापारी राधेश्याम साह अव रहनुभएन । कोरोना भाइरसकाे कारण उहाँकाे निधन भएकाे हाे ।
उहाँकाे काठमाडौंस्थित नेपाल एपिएफ अस्पतालमा गएराती उपचारको क्रममा निधन भएको हो । साहलाइ वैशाख १२ गतेदेखि ज्वरो आएकोमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे । १९ गते जनकपुर स्थित प्रादेशिक ल्यावमा पिसीआर परीक्षण गर्दा २० गते कोरोना संक्रमण भएको पुष्टी भएकाे थियाे । २० गतेनै फुलकुमारी मेमोरियल अस्पताल कर्जहना सिरहामा आयुसियु बेडमा भर्ना भएका थिए । त्यसपछि उनको अवस्था जटिल बन्दै गएपछि ३१ गते हेलिकप्टर चार्टर गरेर काठमाडाैं लगिएको थियो ।
कटारी नगरपालिका ३ गौथली चोक घर भएका साह उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व कार्यालय समिति सदस्य हुन् । हालसम्म कटारीका पाँच जनाकाे काराेनाका कारण मृत्यु भइसकेकाे छ । पाँच मध्ये २ जना जिल्ला स्वास्थ्य कार्यालयकाे तथ्यांकमा पर्दछ भने अन्य तीनजना अन्यत्र जिल्लाकाे गणनामा परेकाे बताइएकाे छ ।
