
आशिष वस्नेत
१८ जेठ , शुक्रबार
उदयपुरको आठ ओटा स्थानीय तह मध्ये ७ ओटा स्थानीय तहहरुलले यस अघिनै आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गरिसको छ । जिल्लाको ७ ओटा स्थानीय तहहरुले भन्दा ढिलो गरीकन बजेट प्रस्तुत गरेको कटारी नगरसभाबाट आगामी आर्थिक बर्षको लागी ६९ करोड ०९ लाख २० हजार ५ सय ५० को बजेट पारित भएको छ ।
विहिबार सम्पन्न नगरपालिकाको ७ औं नगर सभाले विहान नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरी नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सभाले संघीय सरकारको तर्फबाट ४९ करोड ५९ लाख , प्रदेश सरकारको तर्फबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० को अनुमानित बजेट सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारले नगरका १४ वटा वडालाई प्रति वडा ७० लाखका दरले वडाका कार्यक्रमका लागि बजेट छुट्याईएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्ष २०७८÷७९ मा नगरको वडा नम्बर ५ का अतिविपन्न बलबहादुर थापा मगरको श्रीमति दिलमाया थापा मगर र चमेली तामाङ्गको परिवारलाई वस्ने व्यवस्था मिलाईदिन आवश्यक जग्गा र घर निर्माण गरिदिने बताए ।
त्यसैगरी नगरको माथिल्लो पहाडी ५ वडाहरु ९ , १० , ११ , १३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका निर्माण गर्ने मागमाथि सभाले गरेको छलफलबाट जिल्ला समन्वय , प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने सहमति भएको पनि मेयर श्रेष्ठले बताए ।
त्यसैगरी कोरोना भाईरस रोकथाम कार्यक्रमका लागि १ करोडको बजेट छुट्टाएको नगरले प्रत्येक स्वास्थ्य केन्द्रबाट एन्टिजेन परिक्षण गर्दै नगरवासीहरुलाई कोरोनाबाट बचाउने पनि मेयर श्रेष्ठले बताए । नगरवासीहरुलाई खोपका पहुँचमा पुराउने पनि मेयर श्रेष्ठको भनाई थियो ।
नगरसभामा नगरका उपमेयर भिमकुमारी राउतद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको दिर्घकालिन विकासको सोचलाई आधार मानि आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमहरु तय गरिएको उल्लेख गरिएको छ ।
