Friday, April 17News That Matters

कांग्रेसका नेता विजयकुमार गच्छदार पक्राउ गर्दै विशेष अदालत

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो ।

गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गच्छदारलाई सुरुमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो । अदालतले म्याद जारी गर्दा पनि उपस्थित नभएपछि दोस्रोपटक एक महिनाको समयसीमा राखेर म्याद जारी गरेको हो ।

अख्तियारले भने उनीसहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिमाना तथा कैदको माग गरिएको छ । उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।