
पूर्णपुष्टि, जेष्ठ १
काम गरेको पैसा नदिएको निहुमा एक मजदुरले निर्माण व्यवसायीको हत्या गरेको छ । काम गरेको पैसा नदिएका भन्दै मोरङको लेटाङमा एक निर्माण व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।
लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन् । रोमन निर्माण व्यवसायी हुन् ।
काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन् ।
प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे।
ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे ।
पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
