Monday, April 20News That Matters

कालापानी नजिकै छाङरुमा बीओपी

पूर्णपुष्टि, बैशाख ३१ गते ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) सेवा सुरु गरिएको छ । व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा बीओपीको सेवा सुरु भएको हो ।

काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्रिको सल्लाहका प्रध्यापक ईन्द्रजित राई र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो । दार्चुलाको खलङ्गाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु गएको थियो ।

नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी र बन्दोबस्तीका सामानसहित तीन पटक छाङरुमा उडान गरेको थियो । १०/१० जनाले पूर्व र पश्चिमको ड्युटी गर्ने र पाँच जना कार्यालयमा रहने गरी तालिका मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयोे ।

अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको छ । केहि समयपछि आफ्नै भवन बनाएर गुल्म स्थापना गर्ने योजना रहेको जनाईएको छ । भवनको लागी १५ रोपनी जग्गा र ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जनाइएको छ ।

अहिले भाडाको घरबाट ड्यूटी गरेपनि पछि एक सय ६५ जना सशस्त्र रहने गरी गुल्म बनाउन्छ । त्यसको लागि गृह मन्त्रीबाट चाँडै पूर्वाधारको शिलान्यास हुने जनाईएको छ ।

अहिले चीनको सिमा नजिकै तिङ्करमा १० जना नेपाल प्रहरी रहेको चौकी छ भने सितपुल भन्ने स्थानमा १० जना प्रहरी रहेको अर्को प्रहरी चौकी रहेको छ ।

भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएपछि सरकारले कालापानी नजिकै प्रहरी राख्ने निर्णय गरेको थियो । तर अहिले सरकारले बनाएकोे बीओपी कालापानी क्षेत्रभन्दा १० किलोमिटर पूर्व नेपालतर्फ रहेको छ ।