पूर्णपुष्टि, मंसिर २०
दलित भन्दै बिभेदमा परेका किरियापुत्री मोहन सुनारले न्याय पाएका छन् । उनीले करिब ३ बर्षको लडाँईपछि न्याय पाएका हुन् । न्याय पाएपछि मोहनले भने” न्याय अझै मरेको रहेनछ । जिल्ला अदालत कास्कीले मोहन माथी बिभेद गर्ने तीन जनालाई कैद सजाय तोकेको हो ।
मोहनका भाई सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा निमोनियाका कारण मृत्यु भएको थियो। कोभिड–१९ महामारीका कारण सम्मरको शव ल्याउन नसकेपछि दुबईमै उनको दाहसंस्कार गरिएको थियो। पोखरामा दाजु मोहन, सम्मरका श्रीमती र कान्छा छोरा किरिया बस्न खोज्दा उनीहरूलाई अभियुक्तले धम्की समेत दिएका थिए। मोहनमाथी जातिय बिभेदमा दुव्र्यवहार गर्ने देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीले सजाय पाएका हुन् ।
उनिहरुलाई अदालतले एक वर्ष कैद र ५० हजार जरिवाना तोकेको हो । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले जरिवानासँगै एक लाख रूपैयाँ क्षतिपूर्ति समेत भराउने फैसला गरेको सूचना अधिकारी निलप्रसाद पनेरूले बताए । उनीहरूले बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा दलितलाई बस्न नदिने भन्दै स्थानीय मोहन रोकेका थिए।
ती अभियुक्तलाई जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ अनुसार सजाय तोकिएको हो। जिल्ला अदालतबाट फैसला आएपछि न्यायको महशुस भएको पीडित मोहन सुनारले बताए।
अभियुक्तविरूद्ध उनले २०७७ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गर्दा स्थानीयले विरोध जनाएका थिए। जातीय छुवाछुतका आरोपितलाई रिहा गर्न माग गर्दै बाटुलेचौरका स्थानीय कोभिड–१९ महामारीका बेला प्रदर्शनमा उत्रिँदा प्रहरीसँग झडपसमेत भएको थियो। त्यति बेला गण्डकी प्रदेश सांसदसमेत रहेका एमाले नेता कृष्णबहादुर थापाले पीडकका पक्षमा विज्ञप्ति निकालेर साथ दिएपछि उक्त घटनाविरूद्ध प्रदेश सभामा समेत आवाज उठेको थियो।
