
पूर्णपुष्टि, भदौ ३
कुवेत सरकारले अगष्ट ३१ पछि भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसाको म्याद नथप्ने भएको छ । यसअघि कोरोना महामारीका कारण भिसाको म्याद थप गरे पनि आगामी अगष्ट ३१ पछि नथप्ने कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।
यसअघि कुवेतले भिसाको म्याद सकिएको आप्रवासीको भिसा अवधि स्वतः नवीकरण गरेको थियो । तर त्यो समय अगष्ट ३१ देखि सकिंदैछ ।
यो निर्णयबाट ४ लाख ५ हजार आप्रवासी श्रमिकले फाइदा लिएका कुवेतले जनाएको छ । त्यस्तै करिब २ लाख ६० हजार श्रमिकले आन्तरिक मन्त्रालयको वेवसाइटबाट भिसा नवीकरण गरेका छन् । तर पनि करिब १ लाख ४५ हजार आप्रवासी श्रमिकले यस अवसरको फाइदा नउठाएको कुवेतको अनुमान गरेको छ ।
भिसा नविकरण नगरेकाहरुलाई आन्तरिक मन्त्रालयको वेवसाइटबाट जतिसक्दो छिटो भिसा नवीकरणका लागि निवेदन दिन अनुरोध गरिएको छ । भिसा नवीकरण नगर बसोबासको नियम उल्लङ्घन गरेको मानिने र कानुनी झन्झटसँगै जरिवाना समेत हुनेछ ।
भिजिट भिसामा, पारिवारिक भिसा लगायतका भिसामा कुवेत गएकाहरु पनि अगष्ट ३१ सम्ममा आफ्नो देश फर्कन सक्ने र यो अवधिमा फर्कंदा कुनै जरिवाना नलाग्ने कुवेतले जनाएको छ ।
यो अवधिमा स्वदेश नफर्किएमा उनीहरुलाई जरिवाना हुनेछ भने कुवेतले कालोसूचीमा राख्नेछ । कालोसूचीमा परेकाहरु फेरि कुवेत जान पाउने छैनन् ।
