
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अवको केही दिन भित्रै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ ।
आगामी चुनावको लागी दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने प्रचण्डले बताउनुभयो । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताउनुभयो ।
जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उहाँले भन्नुभयो मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने बताउनुभयो ।
जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्ने प्रचण्डले बताउनुभयो । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्नुपर्ने बताउनुभयो । मोहनविक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना छ ।
नेपाल पत्रकार महासंघमा आफूहरुकै अग्रसरतामा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको भन्दै उहाँले ओलीलाई चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा राम्रोसँग मोर्चा बनायौं र इमान्दार भयौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो ।
