
पूर्णपुष्टि, जेठ ३२ गते ।
दुर्लभ जलचर डल्फिन भारतबाट पथरैया, काडानदीमा आईपुगेको छ । बसाई सरी रहन मन पराउने ग्याङ्गेटिक प्रजातिका डल्फिन कैलालीका नदीमा आइपुगेको हो ।
भारतको घाँघरा नदी हुँदै नेपालका नदीमा डल्फिन आउँछन् । यसवर्ष करिब ३ साताअघि नै देखिएको छ । गत वर्ष असार १५ पछि मात्रै नदीमा देखिन्थो ।
विश्वमै दुर्लभ स्तनधारी ती प्रजातिका डल्फिन कैलालीका नदीमा वर्षायाममा मात्रै देखिने गर्छन् । अन्य वर्ष असार दोस्रो, तेस्रो सातापछि देखिन्थे तर यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका संरक्षणकर्मीले जनाएको छ ।
नदीमा असारदेखि असोजसम्म डल्फिन देख्न पाइन्छ । शनिबार मोहना र पथरैया नदीको दोभान क्षेत्रमा २ वटा डल्फिन देखा परेको संरक्षणकर्मी उपकेन्द्र ढुङ्गानाले बताउनुभयो । मोहना र पथरैयाको दोभानमा २ वटा डल्फिन रमाइरहेको थियो । यहाँका नदीमा पानीको गहिराई कम हुने भएकाले बच्चा हुर्काउन भारतबाट वर्षेनी डल्फिन नेपालका नदीमा आई पुग्छ ।
यहाँका नदी स्वच्छ भएकाले पनि आउने गरेको छ । नदीमा पानीको सतह बढेसँगै ती नदीमा वर्षायाममा डल्फिन देखा पर्ने गर्छन् । भारतको घाँघरा नदी हुँदै ती नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिन अवलोकन गर्ने पनि बढ्दै गएका छन् । आन्तरिक तथा बाह्य देशबाट पनि डल्फिन अवलोकन गर्नेहरु आउने गरेका छन् ।
विगतमा दैनिक १० देखि ४० जनासम्म नागरिक डल्फिन अवलोकनमा आउने गरेका थिए । गतवर्ष ४५ जना विदेशी नागरिक डल्फिन अवलोकनकै लागि आएका थिए ।
डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इङ्ल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गरेका छन् । हामी डल्फिनको संरक्षणमा जुटेका छौँ, यो क्षेत्रमा डल्फिनको आहारा माछा मार्न दिँदैनौँ । अवलोकनमा आउनेलाई डल्फिनबारे जानकारी दिने गरेको जनाएको छ ।
विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका–७ र भजनीका स्थानीयवासी जुटेका हुन् । खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले ती नदीको दोभानलाई डल्फिन अवलोकन क्षेत्रका रुपमा विकास गर्न थालिएको छ ।
