
पूणर्पुष्टि,वैशाख १५
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्नका निम्ती प्रदेश १ को झापा जिल्लामा पूर्व तयारी गर्ने निणर्य भएको छ । जिल्लाका सबै स्थानीय तहमा कम्तिमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने निणर्य भएको हो ।
एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिनुभयो ।
अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ ।
तिम्सिनाकाअनुसार जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरुका लागि एक हजार क्षमताको होल्डिङ सेन्टरको स्तारोन्नति गर्ने निणर्य गरेको छ ।
यस क्रममा कलबलगुडीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा थप पाँच सय क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निणर्य भएअनुसार काम अघि बढेको तिम्सिनाले बताउनुभयो ।
झापा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १ सय ६८ बढी सक्रिय सङ्क्रमित रहेकाले सङ्क्रमणको जोखिम कम गर्ने प्रयास स्वरूप सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयको सेवा आलोपालो सिस्टम लागू गरिएको तिम्सिनाले बताउनुभयो ।
तिम्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, नापी, मातपोत, यातायत कार्यालयमा आलोपालो सिस्टम लागू भएको छ ।
