Tuesday, April 21News That Matters

कोरोना कहर हटेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने : मन्त्री भट्टराई

पूर्णपुष्टि, जेठ २६ गते ।

कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएउनुभएको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउने बताउनुभयो ।

कोरोनाको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोरोना स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिने उहाँले बताउनुभयो ।

त्रिभुवन विमानस्थलको सुदृढिकरणको काम अगाडि बढिरहको छ । त्यस्तै, ५४ वटा विमानस्थलहरुमध्ये ३४ वटा कालोपत्रे भएको र बाँकीको पनि कालोपत्रे, विस्तार र आधुनिकीकरण गर्दै जाने मन्त्रि भट्टराईले बताउनुभयो ।

बजेटमा पर्यटन व्यावसायीलाई सहुलियत प्याकेज आएको मन्त्रि भट्टराईले बताउनुभयो । ५० अर्बको पुनर्स्थापना कोषबाट ५ प्रतिशत ब्याजमा रकम चलाउन सकिन्छ उहाँले भन्नुभयो ।

सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीले कर्मचारीलाई तलब दिन र व्यवसाय सञ्चालनका लागि सहुलियत पाउने मन्त्रि भट्टराईले बताउनुभयो । हजाई क्षेत्रमा पार्किङमा छुट, हवाइ इन्धनको मूल्य घटाउनु पनि सहुलियत भएको उहाँले बताउनुभयो ।

पर्यटन मन्त्रालयको सबैभन्दा बढी बजेट २ न. प्रदेशमा रहेको छ । २ न. प्रदेशमा मात्र ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रि भट्टराईले बताउनुभयो ।

बजेटमाथि छलफलका क्रममा केही सांसदहरुले प्रदेशगत रुपमा बजेट असन्तुलित भएको बताउनुभएको थियो । जवाफमा उहाँले भन्नुभयो “सदूरपश्चिममा कम छ, तर, सबैभन्दा बढी २ न. प्रदेशमा जाँदैछ ।”

आफूले विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार स्थापना गरेको मन्त्रि भट्टराईले बताउनुभयो । आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गर्दा राजनीतिकरण, पार्टीकरण भएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताउनुभएको हो ।

‘म भन्दाअघि प्रतिपक्षीबाट १० जना मन्त्री हुनुभएछ । तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न म नै आइपुग्न प¥यो । माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन । मै आइपुगेँ । यसमा त प्रमुख प्रतिपक्षीले अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन’ उहाँले भन्नुभयो ।

सगरमाथाको नाम राख्ने इतिहास शिरोमणि बाबुराम आचार्यले र पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

यसपटक नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई अनुदान नदिएको मन्त्रि भट्टराईले बताउनुभयो । ‘राष्ट्रिय नेताको नाममा बनेका प्रतिष्ठानहरुलाई अनुदान दिने कार्यक्रम छैन त्यसकारण समान छौं । दिँदा तलमाथि होला नदिएपछि समान हुन्छौं’ उहाँले भन्नुभयो ।

भूकम्पबाट क्षति भएका ४ सय भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिसकको र आगामी वर्ष २ सय वटा सम्पदा पुनर्निर्माण सकिने मन्त्रि भट्टराईले बताउनुभयो ।