Tuesday, June 9News That Matters

कोरोना ‘खोप कोष’ स्थापना

 

पूर्णपुष्टि,पुष २९

कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले आर्थिक संकलनका लागि ‘खोप कोष’ को स्थापना गरेको सुचना सार्वजनिक गरेको छ । कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदको २४ गतेको निर्णयअनुसार आकस्मिक प्रयोगको लागि स्वीकृती प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएकोले योगदान गर्न आव्हान गरिएको जनाएको छ ।

खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा निकट भविष्यमा नै खोप बजारमा आउने प्रबल सम्भावना देखिएको छ। उक्त खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ ।

जारी सूचनामा भनिएको छ ‘खोपले हजारौंको जीवन रक्षा गर्नुको साथै महामारी नियन्त्रण हुन गई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारु गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिनेछ । खोप कोषको आय व्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम लेखा परीक्षण प्रचलित कानून बमोजिम गरिने सूचनामा उल्लेख छ ।

कोषमा रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय,त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ ।