
पूर्णपुष्टि, असोज २४
पिसिआर परिक्षणको माग गर्दै निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलीत भएको छ । मजदुर आन्दोलीत भएपछि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको हो ।
१ सय ४० मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो । एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पीसीआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि मजदुरहरु आन्दोलनमा उत्रिएको आयोजनाले जनाएको छ ।
विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको जनाईएको छ । हिजो दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ । यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिने छ ।
संक्रमितसँग सिधा सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्न सकिने भए पनि सबै मजदुर र परिवारको पिसीआर परीक्षण सम्भव नरहेको स्वास्थ्य कार्यालयबाट जानकारी पाएको आयोजनाले जनाएको छ । छलफल गरेर विवाद टुङ्ग्याएर काम सञ्चालन गर्न पहल गरिरहेको पनि जनाएको छ ।
आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समयअगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि भइरहेको छ । दमौलीदेखि भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । यस कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको जनाईएको छ ।
प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कुल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ ।
खुद उचाई १ सय २१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३ सय २३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५सय ५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १ सय ८४ मिलियन डलर व्यहोर्ने छ ।

