
पूर्णपुष्टि, असार १३
पिसीआर विधिबाट परिक्षणका लागी थप १० ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने भएको छ ।
कोरोना परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयले जनाएको छ ।
मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाण्डौ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाण्डौमा प्रयोगशाला स्थापना गरिनेछ ।
अहिले देशभर २३ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण हुने गर्दछ । सम्भावित सङ्क्रमितको अवस्था हेरेर उक्त ठाउँमा मन्त्रालयले प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोना पीसीआर विधिबाट परीक्षण हुनेछ ।
नयाँ ठाउँबाट कोरोना परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक ६ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ ।
अहिलेसम्म २ लाख ६ हजार २ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
