
पूर्णपुष्टि, चैत्र ८ गते ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नहुदो भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने विवेक थापा मगर पक्राउ परेको छ ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय मगरलाई भ्रमपूर्ण अडियो सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको साइबर व्यूरोले जनाएको छ ।
पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यही कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेर सामाजिक सञ्जालमार्फत फैलाउने काम गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
