
उदयपुर, बैशाख १५ गते ।
नेपालकै प्रमुख कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केका बासिन्दाले आफुहरुको स्वास्थ्य परिक्षण छिटो भन्दा छिटो गर्न जोडदार माग गरेका छन् । गत वैशाख ५ गतेदेखि लकडाउनमाथि थप सुरक्षा घेरामा बस्नु परेका उनीहरुले संक्रमित परिवारको पुनः परिक्षण र पुरै गाउँमा कम्तिमा परिवारको १ जनाको भएपनि स्वाव नमुना संकलन गरी परिक्षण गर्न स्थानीयबासीले सरकारसंग माग गरेका छन् ।
२८ जना संक्रमित भएको गाउँमा ३ सय घरका मानिसहरु पिरले गर्दा ढुक्कले निदाउन सकेका छैनन् । हिन्दु, मुसलमान समुदायका सबै मानिसहरु भाइचाराका साथ बसोबास गर्नुका साथै व्यवहार गर्दै आएका थिए । त्यसै हिसावले पनि त्यहाँका चौधरी, क्षेत्री, बाहुन, राई, मगर लगायतका समुदायमा पनि सरेको हुनसक्ने आशंक गरिएको छ । परिक्षण नभएकाले कतै भित्रभित्रै संक्रमण फैलिरहेको छ की भन्ने चिन्ता उनीहरुमा छ ।
संक्रमित व्यक्तिहरु भेटिएको बस्तिसंगै जोडिएकाले उनीहरुमा सबैभन्दा बढि चिन्ता रहेको छ । गाउँनै लकमा परेर बसेको लामो समयसम्म पनि स्वास्थ्य परिक्षण नहुँदा मानसिक विमार हुन थालेको छ । लकडाउन र सुरक्षा घेरालाई पूर्ण पालना गरी गाउँलेहरु बसेर सरकारलाई सहयोग गरेपनि सरकारले सहि ढंगले काम अगाडी नबढाएको स्थानीयबासीहरुले गुनासो गरेका छन् ।
सुरुदेखि नै संक्रमित स्थानलाई प्रशासनले लक जारी राखेको छ । लकका कारण जनजीवन ठप्प छ । अव धेरै कुजिएर बस्न नसक्ने भन्दै उनीहरुले स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी दिन माग गरेका छन् । १ नं. प्रदेशका मुख्यमन्त्रीसमेतले उक्त स्थानको अवलोकन गरिसकेकाले स्वास्थ्य परिक्षणको आस गरेका उनीहरुले परिक्षणको सेवा नपाउदा स्थानीयहरु आक्रोसित बनेका छन् ।
स्थानीय सरकारले उक्त स्थानमा खाद्यन्न उपलब्धता गराएको जनाएको छ । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला जनस्वास्थ्यले भएसम्मको स्रोत साधनले परिक्षणको काम गरिरहेको जनाएको छ । पहिलो चरणमा विशेष संक्रमित र आशंका गरिएका ठाउँका व्यक्तिहरुको परिक्षण गरिएको र अव भुल्केका संक्रमित आसपासका बासिन्दाहरुको परिक्षणको तयारी भइरहेको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
देशकै कोरोना संक्रमणको इपि सेन्टरको रुपमा देखिएको उक्त स्थानको बासिन्दाको मर्म बुझेर माग पुरा गर्न जरुरी देखिएको छ ।
