
पूर्णपुष्टि, असार ६
सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाकाबाट एकै दिन ७ सय ७६ जना नेपाली स्वदेश भित्रिएका छन् । गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ७ सय ७६ नेपाली नागरिक नेपाल भित्रिएका हुन् भने १ सय ७८ भारतीय नागरिक बाहिरिएका छन् ।
रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गते यता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खानबस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् । असार लागेसँगै नेपाली आउने क्रम न्यून हुँदैगएको जनाईएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट ३ सय ४३ नेपाली नागरिक भित्रिएका छन् भने ४२ जना भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ४ सय ३३ नेपाली नागरिक भित्रिएका छन् भने १ सय ३६ भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ ।
योसँंगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको संख्या करिब १ लाख १७ हजार पुगेको छ भने बाहिरिनेको संख्या १७ हजार बढी पुगेको प्रहरीले जनाएको छ ।
नेपाल भित्रिएका उनीहरूलाई विभिन्न जिल्लामाका स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।
कतिपय स्थानीय तहले भारतबाट आउनेको संख्या कम भएसँगै होम क्वारेन्टाइनमा बस्ने गरी नगरपालिकाको क्वारेन्टाइन खाली गर्दैछन् । घोडाघोडी नगरपालिकाले अब आउने नेपालीलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको जनाएको छ ।
शुक्रबार नै घोडाघोडी नगरपालिकाले क्वारेन्टाइनमा बसेका ७० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएकोमा २० जनाको कोरोना पोजिटिभ पुष्टि भएको छ ।
यो पनि पढ्नुस् :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टी भित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समय भन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।
शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।
