Tuesday, June 9News That Matters

गणक र सुपरिवेक्षक पदमा भर्ना खुल्यो

पूर्णपुष्टि,माघ ११

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको छ । विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो ।

२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने विभागको भनाइ छ ।

जनगणना विभिन्न प्रविधि अपनाएर गरिने छ । मानिसको जनगणनाको साथै व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने विभागले जनाएको छ ।

विभागको अनुसार गणक तथा सुपरिवेक्षक पालिकाकै जनशक्तिबाट गर्ने तथा पालिकामै तालिमको व्यवस्था गरिने छ । अघिल्लो जनगणनामा भन्दा यस पटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको विभागले जनाएको छ ।

जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ  ।