
पूर्णपुष्टि, जेठ २९ गते ।
गण्डकी प्रदेशमा २७ जना डेङ्गी संक्रमित फेला परेको छ । प्रदेशको ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका २७ जना संक्रमित फेला परेको हो ।
कोरोना भाइरसको जोखिमकाबीच डेङ्गी र स्क्रब टाइफसको संक्रमण समेत बढेको छ । म्याग्दीका ५ जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गी संक्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका जनाईएको छ ।
गण्डकीका पर्वतमा २ तथा बाग्लुङ, तनहुँ र नवलपुरमा १/१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनाईएको छ । सबैभन्दा बढी डेङ्गी संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजना अनुसार लामखुट्टेको सर्भे गरिएको जनाईएको छ ।
बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकोले त्यो क्षेत्रलाई डेङ्गी रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणको गतिविधि सुरु गरिएको छ ।
कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गी संक्रमण फैलन नदिनको लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम सुरु गरिएको निर्देशनालयले जनाएको छ ।
डेङ्गी ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् ।
त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको संक्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकोले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिएका छन् ।
