
पूर्णपुष्टि, असार २९
मंगलबार गाईघाट स्थित करमगाछी माथी बाटोमा चालिस हजारको चेक सहित अन्य महत्वपूर्ण कागजातहरु फेला परेको छ । फेला परेको चेक सहितको महत्वपूर्ण कागजात धनिलाई बुझाइएको छ । त्रियुगा नगरपालिका १० करमगाछीका कर्ण कुमार बस्नेतले सो सामान फेला पारी धनिलाई बुझाएको हो ।
रोड साईड झोला फेला परेपछि घर ल्याएर हेर्दा ग्लोबल र ज्योति विकास बैँकको २ थान चेक, ज्योती विकास बैँकको भरेको हस्ताक्षर सहितको ४० हजार बराबरको चेक र एउटा खाली चेक, लाइसेन्सको रसिद, बिलबुक, भौचरको रसिद र अन्य थुप्रै कागजातहरु फेला परेको थियो ।
सामान फेला परेपछि चेकमा रहेको नम्वरमा सम्पर्क गरी धनि पत्ता लगाएर सामान बुझाएको फेला पार्ने कर्ण बहादुरको छोरा उमेश वस्नेतले जानकारी दिए ।
सामानका लागि सम्पर्क गर्दा साउने घर भएको र सामानको धनी हेमन्त लामिछाने मगर रहेको पत्ता लागेपछि बोलाएर घरमै सामान हस्तान्तरण गरिएको बस्नेतले बताए । सामान स्थानीयहरुको रोहबरमा वितरण गरिएको हो ।
हराएको सामान फेला परेपछि मगरले खुसी हँुदै सामान फेला पार्ने व्यक्ति र बुझाउने माहान सोँचलाई धन्यवाद व्यक्त गरेको छ । उनले आफ्नो महत्वपूर्ण सामान फेला पारेर यसरी फोन गरी बुझाएकोमा आफु निकै भाग्यमानी रहेको बताए ।
