
पूर्णपुष्टि, चैत २३
म्याग्दीको घोडेपानीमा गुराँस टिप्नेलाई पाँच हजार जरिवाना तिराउने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई पाँच हजार जरिवाना तिराउने नियम बनाएको हो ।
घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गर्र्दै गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिले लागु गरेको नियम पालना नगरी गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको समितिले जनाएको छ ।
गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेकाले राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । गुराँसको फूल नपाक्दै टिपिदिँदा त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुन्छ ।
घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।
एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आँकलन गरिएको समितिले जनाएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।
वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ ।
