
पूर्णपुष्टि, जेठ २१ गते ।
ताप्लेजुङका दुई जना सहायक वन अधिकृतलाई २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ घुससहित रङ्गेहात पक्राउ गरिएको हो ।
उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचनाको अनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइने जनाईएको छ । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको अख्तियारले जनाएको छ ।
