पूर्णपुष्टि, पुष १३ । नेपाली चलचित्र साथै हास्यव्याँगे क्षेत्रमा एक छत्र समय बितइसकेका कलाकार रामचन्द्र अधिकारीलाई चलचित्र विकास बोर्डले स्वास्थ्य बीमा प्रदान गरेको छ । काठमाडौँमा बुधवार आयोजित चेक हस्तान्तरण कार्यक्रममा अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेको हो ।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न अवस्थाका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । जस अन्र्तगत सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरिसकेको छ ।
राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न आग्रह गरेको छ । यस किसिमका दावी भुक्तानी पाउन कलाकारहरु मध्य अधिकारी मात्रै भएको भन्दै उनले दाबी पेस गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जनाए ।
‘बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकिने अधिकारीले बताए । आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो ।
