Friday, May 22News That Matters

चिकित्सक र नर्ससहित २८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३२

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु रहेको जनाईएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार आएको रिपोर्टमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका मात्रै २१ जनामा संक्रमण पुष्टि भएका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर–३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

त्यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वरेण्टीनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।

त्यसैगरि खैरहनी नगरपालिका– ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वरेण्टीनमा थिए ।

क्यान्सर अस्पतालका पाँच जना नर्स पनि संक्रमित भएपछि होम क्वरेण्टीनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालकै आइसोलेशनमा राखिने क्यान्सर अस्पतालले जनाएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भरतपुर महानगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ । भदौ ५ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञापछि बजार क्षेत्र सुनसान छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा निगरानी बढाइएको छ ।