Friday, May 22News That Matters

चितवनका थारु समुदायद्धरा ‘चाडपर्व कार्यविधि’ जारी

पूर्णपुष्टि, भदौ २१

कोरोना संक्रमण बढ्दै गएपछि चितवनका थारु समुदायले चाडपर्व मनाउन कार्यविधि बनाएका छन् । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति चितवनले  जितिया, दशैं, तिहार, छठ, माघे सङ्क्रान्तिसहित चैते दशैंसम्मका पर्व मनाउन कार्यविधि बनाएको हो ।

‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भएर पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु’ समुदायको चाडपर्व कार्य विधि २०७७’ जारी भएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

नेपाल सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तसम्मको सार्वजनिक बिदा तथा पर्व बिदासम्बन्धी मिति २०७६ चैत्र १७ गते राजपत्रमा प्रकाशित गरेको सूचनालाई आधार बनाएर कार्यविधि बनाइएको समितिले जनाएको छ ।

भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा समिति रहेर कोरोनाबाट जोगिनका लागि कार्यविधि बनाएको जनाईएको छ । जितिया पर्वसँगै थारु समुदायमा चाडपर्व सुरु हुन्छन् । जितिया, यमोसा, दशैं, सोहोराइ तिहार, छठ, एकादशी, खिचरा, फगुवा, दशहरा पर्व कसरी मनाउने भनेर कार्यविधिमा उल्लेख गरिएको छ ।

रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उपयुक्त हुने भन्दै कार्यविधि बनाएको विज्ञप्तिमा उल्लेख छ । हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर अहिले रीत मात्रै पूरा हुने गरी चाडपर्व मनाउन विज्ञप्तिमा उल्लेख छ ।

थारु समुदायले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । यो महिलाहरुले मनाउने पर्व हो । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । त्यसपछि सोह्रश्राद्धको अन्तिम दिन दिवंगत पितृको सम्झनामा ‘एमोसा’ मनाउँछन् ।