Friday, May 22News That Matters

चीनतर्फ सामान निर्यात घट्यो

पूर्णपुष्टि, साउन २८

चिन तर्फको सामान निर्यात घटेको छ । रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात कम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

आव २०७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामान मात्र निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेअ छ । आव २०७५/७६ मा भने १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।

रसुवागढी नाकाबाट गत साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार, १५ करोड ९१ लाख २८ हजार र माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात भएको कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको कारण फागुनदेखि असार मसान्तसम्म भने सामान निर्यात नभएको भन्सार कार्यालयले जनाएको छ । गत असार २८ गतेदेखि सञ्चालनमा आएको रसुवागढी नाकाबाट अहिले आयात मात्र भइरहेको छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।