
पूर्णपुष्टि, असार २०
रौताहटमा जंगली हात्ति बस्ती छिरेको छ । हात्ति वस्ती छिरेपछि त्यहाँका स्थानीयहरु त्रसित बनेका छन् । हात्तिले स्थानीयहरुको घर भत्काउनुका साथै अन्नपातमा क्षति पुगाएको छ ।
गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ ।
सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । अहिले सो हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा रहेको छ ।
गाउँबस्तीमा जंगली हात्ती हिंडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । वन कार्यालय र निकुञ्जको टोली रौतहट आउने क्रममा रहेको उनले बताए ।
