Sunday, May 17News That Matters

जग्गाधनी पुर्जा दिने प्रक्रिया सुरु

पूर्णपुष्टि, फागुन १६

चितवनमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिने प्रक्रिया अघि बढेको छ । जिल्लाको सातवटै पालिकाले आफ्नो निकायभित्र रहेको भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाइएको हो ।

पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै काम शुरु भएको जनाएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् ।

भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया शुरु भइसकेको भरतपुर महानगरपालिकाले जनाएको छ । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको जनाएको छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको छ ।

वडावाट प्रमाणित गराएर नापनक्शा निकाल्ने काम गरिरहेको जनाएको छ । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको सङ्ख्या दुई हजार ४ सय ५० रहेको नगरपालिकाले जनाएको छ ।

माडीको बाँदरझुलामा मात्रै झण्डै ७ सय सुकुम्बासी छन् । तीस वर्षदेखि सुकुम्बासीका रूपमा बस्दै आएका सुकुम्बासीको समस्या समाधान सबैभन्दा जटिल रहेको छ । नगरपालिकामा चार हजार सुकुम्बासी रहेको जनाएको छ ।

कालिका नगरपालिकामा चार हजार २ सय ३२ परिवार, राप्ती नगरपालिकामा छ हजार परिवार र इच्छाकामना गाउँपालिकामा चार हजार ५ सय भूमिहीन तथा सुकुम्बासी रहेका छन् । यस्तै खैरहानी नगरपालिकामा दुई हजार ५ सय भूमिहीन तथा सकुम्बासी रहेका सम्बन्धित नगरपालिकाले जनाएको छ । सबै स्थानीय तहले पनि अहिले भूमिहीन समस्या समाधानमा प्रक्रिया शुरु गरिसकेको जनाएका छन् ।