
पूर्णपुष्टि, साउन २९
नागढुंगाबाट जबरजस्ति काठमाण्डौँ छिर्न खोज्ने तीन जना पक्राउ परेका छन् । काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती काठमाण्डौँ छिर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गतराति करिब पौने ११ बजे नागढुंगाबाट काठमाण्डौ प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका–२ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका–१ का बिक्की नेपाली र रुपन्देहीको बुटवल–११ का विशाल रसाईलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाण्डौ प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि कडाइ गर्न थालेको छ ।
