Friday, May 22News That Matters

जाजरकोट घटनाको छानबिन गर्न समिति गठन

पूर्णपुष्टि, जेठ १३ गते । 

जाजरकोट घटनाको अध्ययन गर्न सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सह–सचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

मंगलबार राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले समिति गठन भएको जनाकारी दिनुभएको थियो । घटनामा ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजाहारी–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका– ४ का २१ वर्षीय नवराज विकले १९ जना साथीहरुको समूह लिएर चौरजाहारी पुगेको थियो । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो भने उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । फेला परेको शव पोष्टमार्टमको लागी जाजरकोट अस्पतालमा राखिएको जनाईएको छ ।

जजरकोटका १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही, १७ वर्षीय सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको जनाईएको छ ।

रुकुमको घटनाको सरकारलाई ध्यानाकर्षण गराउँदै सांसदहरुले दलितसँग सम्बन्धित घटनाहरुबारे अध्ययन गर्न संसदिय समिति गठन गर्न माग राखेका छन् ।