Thursday, May 21News That Matters

जिल्ला ४, कर्मचारी १ : यस्ताे पनि कार्यालय

पूर्णपुष्टि, फागुन २० ।

उदयपुरमा एउटा यस्तो कार्यालय रहेको छ । जुन कार्यलयले चार जिल्ला हेर्नुपर्छ तर, कर्मचारी संख्या भने एकजना मात्र रहेको छ ।

एकजना कर्मचारीले चारवटा जिल्ला हेर्नुपर्ने कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हो र कर्मचारीमा निमित्त कार्यालय प्रमुख रमेश दाहाल मात्र रहेका छन् । कार्यालय स्थापनायता कार्य सम्पादनका लागि आफु एक्लै खटिरहनु परेको प्रमुख दाहालले बताउनुभयो । छ वटा कोठा भएको दुईतल्ले भाडाको घरमा कार्यालय रहेपनि एक्लो कर्मचारीले सबै काम धान्न पर्दा कार्यसम्पादनमा कठिनाइ पर्ने गरेको छ । “जिम्मा चार जिल्लाको छ, खटिने म एक्लो” उहाँले भन्नुभयो “कार्यसम्पादनमा ज्यादै कठिनाई छ ।” कार्यालय हेर्नेदेखि बाहिरको कामसमेत एक्लोले भ्याउन मुस्किल छ । चारजना दरबन्दी रहेको कार्यालयमा अरु कर्मचारीको व्यवस्था नभएपछि सकेसम्म एक्लै खटिरहेको उहाँले बताउनुभयो ।

कार्यालयमा वार्षिक कार्यको विवरण भने धेरै छन् । चार जिल्लाको खाद्य नमुना संकलन, बजार, उद्योग, होटल निरिक्षण तथा अनुगमन, डेरी, उद्यमीलाई तालिम, उपभोक्ता भेला, विद्यालय शिक्षा, होटल सचेतना जस्ता महत्वपूर्ण कामहरु छन् । त्यसबाहेक कार्यालय व्यवस्थापन, कार्य सम्पादन तथा अन्य कार्यालयहरुसंग सहकार्य, समन्वय, भ्रमण जस्ता कुराहरु छन् । कर्मचारी अभावले ती सबै कामहरु प्रभावित बनेको उहाँले बताउनुभयो ।

उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलु कार्यक्षेत्र हुनेगरी डेडवर्षअघि गाईघाटमा स्थापना भएको कार्यालयको यस्तो अवस्थाले सर्बसाधारण उपभोक्ताहरु प्रभावित बनेका हुन् । आम नागरिकले खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरु गुणस्तर र स्वस्थ्यवद्र्धक प्राप्त गरुन् भन्ने हेतुले राज्यले सो कार्यालयको स्थापना गरेको हो । बढ्दो कालाबजारी, ठगी, छली जस्ता कुराले नागरिकको स्वस्थ्य मात्र नभई जनजीविकामै प्रभाव पर्ने गरेको छ । साथै करछली गरी राज्यलाईसमेत नोक्सानी पर्याउने काम भईरहेकाले यस्ता कुरालाई नियन्त्रण तथा नागरिकलाई सुविधा पुर्याउने उद्देश्यले स्थापना गरिएको हो ।

तर, तिनै कार्यालयमा कर्मचारीको व्यवस्था हुन नसक्दा कार्यालयको उद्देश्य अनुरुपको काम प्रभावित बनेको छ भने उपभोक्ताले सेवा, सुविधा पाउन सकेका छैनन् ।

त्रियुगा नगरपालिका ११ गाईघाट बजारका व्यापारी भरत चामलिङले सेवा, सुविधा दिने भन्दा पनि नाममात्रको कार्यालय स्थापना भएको प्रतिक्रिया जनाउनुभयो । “जम्मा एकजना कर्मचारी भएको कार्यालयबाट के सेवाको आशा गर्नु” उहाँले भन्नुभयो ।

कार्यालय स्थापनाको डेडवर्ष वितिसक्दा पनि कर्मचारी हालसम्म सोलु पुग्न सकेको छैन भने खोटाङ र ओखलढुंगा एक÷एक पटक पुगेको रेकर्ड छ । ओखलढुंगा दोस्रोपटक जाने तयारी रहेको छ । कर्मचारी जिल्लामा पुग्नसम्म त सकेको छैन भने सेवा, सुविधा पाउने कुरो परको हो ।

पहिले पहिले जिल्ला प्रशासन कार्यालयमा नै खाद्य निरिक्षण इकाईको रुपमा रहेकोमा गत २०७५ असोज महिनादेखि चार जिल्ला हेर्नेगरी डिभिजन कार्यालय गाईघाटमा राखिएको थियो । कार्यालय राखे पनि पर्याप्त कर्मचारी र स्रोत साधनको व्यवस्था नगरिदा आम नागरिक सेवा सुविधाबाट बञ्चित छन् ।